प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री
मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताएका हुन्।
काठमाडाैं, असार २० : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सवैले हातेमालो गर्नुपर्ने बताएका हुन्।
उनले यस वर्ष स्वास्थ्य क्षेत्रमा केही बजेट कटौती भएको भन्दै भएका बजेटबाट पनि सवैले औचित्य पुष्टि हुने गरि काम गर्नुपर्नेमा जोड दिए। मन्त्री बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास सके आर्थिक लाभ, पर्यटन प्रवर्धन लगायत बहुआयामिक फाइदा रहेको बताए।
उनले वर्षको एक दिन राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाएर मात्रै नहुने भन्दै यस क्षेत्रको थप बिकासका लागि वर्ष दिन नै क्रियाशील हुनुपर्ने धारणा राखे।
कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले प्राकृतिक चिकित्साको विकासका लागि प्रयाप्त बजेटको आवश्यकता रहेको बताए।











