Kathmandu Press

प्रधानमन्त्रीकाे अभिव्यक्तिविरूद्ध सदनमा एमालेले आवाज उठाउने

आज (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकअघि बसेकाे एमाले संसदीय दलको आकस्मिक बैठकले त्यस्ताे निर्णय गरेकाे हाे।
प्रधानमन्त्रीकाे अभिव्यक्तिविरूद्ध सदनमा एमालेले आवाज उठाउने

काठमाडौं, असार २० : प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अभिव्यक्ति आपत्तिजनक रहेकाे निष्कर्ष निकाल्दै त्यसविरूद्ध प्रतिनिधिसभाको बैठकमा सशक्त रूपमा आवाज उठाउने भएकाे छ।

आज (बुधबार) बस्ने प्रतिनिधिसभाको बैठकअघि बसेकाे एमाले संसदीय दलको आकस्मिक बैठकले त्यस्ताे निर्णय गरेकाे हाे। बैठकले प्रधानमन्त्री दाहालले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको भन्ने विषय पनि सदनमा गम्भीर रुपमा उठाउने निर्णय गरेको छ।

काठमाडाैंमा सोमबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक भारत गएको अभिव्यक्ति दिएका थिए।

बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको ठहर गरेको एमाले सचेतक महेश बर्तौलाले बताए। यो प्रधानमन्त्रीको निजी विषय नभएर देशको स्वाभिमानसँग जोडिएको विषय भएकाे उनले बताए।

‘संसदले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भाष्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन, दिल्लीबाट बन्दछ भन्ने स्थापित गर्न खोजिँदैछ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै बर्तौलाले भने, 'प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य हाेइन, उहाँले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाइसक्नुभयाे।’

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, असार २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्