सभामुख–शीर्ष नेता छलफल : संसदीय समितिको सभापति चयन प्रक्रिया अविलम्ब अघि बढाउने सहमति
सभामुखसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरदबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति हो।
काठमाडौं, असार १९ : सभामुख देवराज घिमिरेको पहलमा भएको शीर्ष तीन दलका शीर्ष नेताको बैठकमा संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ।
सिंहदबारस्थित सभामुखको कार्यकक्षमा भएको सभामुखसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरदबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति हो।
बैठकमा सहभागी कानुनमन्त्री धनराज गुरुङका अनुसार दलहरुले सहमति नगरे आफूले सभापति चयनको प्रक्रिया अघि बढाउने समेत सभामुख घिमिरेले बताएका थिए।
छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए।
संसदीय गतिविधिलाई सक्रिय बनाउने काम राजनीतिक दल र तिनका नेताहरुको भएको भन्दै सभामुख घिमिरेले यो आफ्नोमात्रै जिम्मेवारी नभएको बताएको गुरुङले बताए।
बैठकमा सभापति चयन प्रक्रिया अविलम्ब टुंग्याइहाल्ने सहमति भउको बताइएको छ। संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुने बताइएको छ।
प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समितिहरू हाल रिक्त छन् । यस्तै, राष्ट्रिय सभा र प्रतिनिधिसभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन्। अहिले समिति बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।











