शीर्ष नेतासँग सभामुखले छलफल गर्ने
सभामुख घिमिरेले आज बिहान ११ बजे आफ्नै कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेतासँग छलफल गर्न लागेका हुन्।
काठमाडौं, असार १९ : सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्षनेतासँग छलफल गर्ने भएका छन्। सभामुख घिमिरेले आज बिहान ११ बजे आफ्नै कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेतासँग छलफल गर्न लागेका हुन्।
सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् ।
संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्षनेतासँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुने जनाइएको छ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेताहरूलाई बोलाएका हुन्।











