Kathmandu Press

पहिराले महाकाली लोकमार्ग अवरुद्ध

शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो।
पहिराले महाकाली लोकमार्ग अवरुद्ध

जागरकोट, असार १९ : वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो।

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको छ। खलङ्गाबाट महेन्द्रनगर–काठमाडौँका लागि छुटेका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका छन्।

पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन्।

महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन्।

पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए।

प्रकाशित मिति: १०:३० बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्