Kathmandu Press

उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिनुपर्ने खाँचो औँल्याए।   
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

काठमाडाैं, असार १८ : उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ। 

सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिनुपर्ने खाँचो औँल्याए।   

उपराष्ट्रपति यादवले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धबाट प्राप्त शान्तिको सन्देश विश्वसामु पुर्‍याउने नेपालको अभियानलाई भ्याटिकन सिटीबाट अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

आगामी दिनमा दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत र व्यापक बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, अन्तर धर्म सम्वाद तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्य गर्ने सम्भावना रहेको धारणा व्यक्त गरे। 

भेटका क्रममा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप सुदृढ तुल्याउन राजदूत जिरेलीको सक्रिय भूमिका रहने विश्वास व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्