गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन : शशांक कोइराला
स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमतायुक्त नेता भएकाे बताए।
काठमाडाैं, असार १८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन्।
स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमतायुक्त नेता भएकाे बताए।
कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले भने, 'गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन, उनी जे बोल्नुहुन्थ्यो त्यो पूरा गर्नुहुन्थ्यो । उनकै कारण दोस्रो जनआन्दोलन सफल भएको हो।' उनका अनुसार दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो।
रक्तदान जस्तो सामाजिक काममा सबै लाग्नुपर्ने डा कोइरालाको भनाइ थियो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम र उर्मिला थपलिया, कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्कालगायतले रक्तदान सामाजिक काम भएकाले कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने बताए।
गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष भरत खड्काले जानकारी दिए।











