Kathmandu Press

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका थिए। बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रमसँगै मूलतः कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल हुने जनाइएको छ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल
फाइल तस्बिर

काठमाडौं, असार १८ : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका थिए। बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रमसँगै मूलतः कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल हुने जनाइएको छ।

एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन्। त्यसका लागि गठबन्धन दलमध्ये कसले नेतृत्व गर्ने भन्ने अन्योल छ। कांग्रेस र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरिरहँदा यो बैठकलाई महत्वका साथ हेरएिको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सिट चाहिन्छ। राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन।

एमाले र राप्रपा गठबन्धनमा ४६ सांसद छन्। जसमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सिट, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी (जसपा) को १ गरी गठबन्धनसँग पनि ४६ नै सिट छ। गठबन्धनले राप्रपालाई सरकारमा ल्याउन सकिन्छ कि भनेर कसरत गरिरहेको बुझिएको छ।

जनमत पार्टीलाई संघीय सरकारमा ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले दाहालले छलफल गरेका थिए। त्यतिबेला दाहालले जनमतलाई गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए। जनमतले वर्तमान सरकारलाई समर्थन दिएको छ।
 

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, असार १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्