सत्ता गठबन्धनको बैठक बस्दै, काेसीमा सरकार गठनबारे छलफल हुने
बैठकमा मूलतः कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल हुनेछ। एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन्।
काठमाडौं, असार १८ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको जनाइएको छ।
बैठकमा मूलतः कोशी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल हुनेछ। एमालेबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीले प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सीट चाहिन्छ। राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन।
एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन्। नेपाली कांग्रेसको २९, माओवादीको सभामुखबाहेक १२ सिट, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी (जसपा) को १ गरी गठबन्धनसँग पनि ४६ नै सिट छ ।
जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा पनि छलफल हुने बताइएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग प्रधानमन्त्रीले दाहालले छलफल गरेका थिए। त्यतिबेला दाहालले जनमतलाई गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए। बैठकमा समसायिक विषयमा छलफल हुने जनाइएको छ।