‘अलिकति पनि हेलचेक्राइ गरे देशको भाग्य र भविष्य नै संकटमा पर्छन्’
अहिले सामान्य सुधारबाट समस्याको समाधान नहुने भएकाले देशलागि अन्तिम लडाइँ लड्नुपर्छ भन्ने उदेश्यका साथ आफुले जसरी पनि प्रधानमन्त्री बन्न प्रयत्न गरेको र सफल भएको उनले बताए।
काठमाडाैं, असार १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताएका छ।
जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सवका साथै गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आन्तरिक र बाह्य परिस्थिति हेर्दा अहिले लोकतन्त्र र राष्ट्रका लागि खतरा उत्पन्न भएको भन्दै अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताएका हुन्।
अहिले सामान्य सुधारबाट समस्याको समाधान नहुने भएकाले देशलागि अन्तिम लडाइँ लड्नुपर्छ भन्ने उदेश्यका साथ आफुले जसरी पनि प्रधानमन्त्री बन्न प्रयत्न गरेको र सफल भएको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले देशमा देखिएका विसंगति र विकृति अन्त्य गर्न आफू दृढ रहेको र यसका लागि कांग्रेससँग सहकार्य आवश्यक ठानेरै गठबन्धनलाई बलियो बनाउन लागेको धारणा राखे।
त्यस्तै उनले कांग्रेस र कम्युनिष्ट मिलेर नै हालसम्मको परिवर्तन सम्भव भएकाले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने उल्लेख गरे।
अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोसिस भइरहेको भन्दै जनताको अवस्था बदल्न आत्मसमीक्षा गर्न जरुरी रहेको उनले बताए।











