Kathmandu Press

ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो।
ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

काठमाडौं, असार १७ : काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो। स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ।

उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए। आज कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो।  

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ। अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ।

कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति: २०:५० बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्