ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन सांसदहरुको आग्रह
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले अर्थतन्त्रलाई अनुशासन र सन्तुलन राख्दै कम ऋण लिने स्थिति सृजना गर्न पनि माग गरे।
काठमाडौं, असार १७ : प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले ऋण लिएको रकम उत्पादनशील क्षेत्रमा खर्चन आग्रह गरेका छन्।
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले अर्थतन्त्रलाई अनुशासन र सन्तुलन राख्दै कम ऋण लिने स्थिति सृजना गर्न पनि माग गरे।
विधेयकमाथिको संशोधन प्रस्तावको छलफलमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दुई अर्ब ४० अर्ब राष्ट्र ऋण उठाउने प्रस्ताव समसामयिक र वस्तुनिष्ठ भएको बताउँदै राष्ट्र ऋण र बेरुजु फरक–फरक विषय भएको बताए।
यस्तै, एमाले सांसद सूर्य थापाले बाह्य र आन्तरिक ऋणमा गरिएका प्रस्तावहरु यथार्थपरक नभएको बताउँदा एमालेकै सांसद अमृतलाल राजवंशीले वित्तीय अनुशासनमा बस्न सकेमात्र ऋणको उपयोग सही ढङ्गले हुनसक्ने बताए।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले ऋण लिएर पनि सेवा वा वस्तु उत्पादनमा खर्च गर्न सकेको अवस्थामा मात्र ऋण बढाउन सुझाव दिए। ‘सेवामा र वस्तुको उत्पादनमा खर्च गर्न सकिएको छैन। ऋण लिएर पूँजीगत खर्च गरिरहनुपर्ने अवस्था छ,’ उनले भने।
कांग्रेस सांसद प्रदीप पौडेलले अर्थतन्त्रले सन्तुलन गुमाएको भन्दै सरकारलाई ऋण लिने विषयमा सचेत हुन ध्यानाकर्षण गराए। उनले भने, ‘ऋणका कारण हरेक वर्ष हाम्रो बजेट प्रभावित भएको छ । वित्तीय अनुशासनमा नबस्दा अहिलेको अवस्था आएको हो अब उत्पादनको क्षेत्रमा ऋणको प्रयोग बढाऔँ।’
यस्तै, सांसद शिशिर खनालले पछिल्लो दश वर्षमा जम्मा ऋणको रकम तीन गुनाले बताउँदै पूँजीगत खर्चमा भन्दा ऋणको ब्याज तिर्नमा बढी खर्च गरिरहेको उल्लेख गरे।
जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले ऋणको सदुपयोग गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै ऋणलाई उत्पादनमूलक बनाउन, कृषि र पर्यटनमा कर्जा लगानी गरेर रोजगारी बढाउनुपर्ने बताइन् ।
अर्की सांसद सोविता गौतमले सरकारलाई ऋण घटाउन सुझाव दिँदै ऋणलाई उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘अब पनि ऋणलाई सकेसम्म कम गरौँ । ऋण लिनैपरे पनि उत्पादनाशील क्षेत्रमा खर्च गरौ।’
छलफलमा भाग लिँदै सांसद बिजुला रायमाझीले ऋणको भार नबढाउन सरकारलाई सुझाव दिइन्।











