कर्मचारी–कानुन व्यवसायी जुहारी : कर्मचारीविरुद्ध पनि प्रहरीमा जाहेरीको तयारी
ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागिएको हो । उनीहरुविरुद्ध प्रमाण नष्ट गरेको आरोप बारले लगाएको छ।
काठमाडौं, असार १७ : ललितपुर जिल्ला अदालतका नायव सुब्बा प्रेमिका तामाङ र एकजना अधिवक्ताको विवादमा कानुन व्यवसायीहरुले पनि ललितपुर प्रहरीमा जाहेरी दिने तयारी गरेका छन्।
कानुनव्यवसायीले कर्मचारी तामाङले घुस मागेको आरोपसहित जाहेरी दिने तयारी गरेको ललितपुर बारका एक सदस्यले जानकारी दिए। दुईतर्फी विवादलाई लिएर बिहान ललितपुर जिल्ला अदालत प्रशासन र कानुन व्यवसायीबीच छलफल गराउने तयारी भए पनि विफल भएको छ।
अदालत प्रशासन छलफलमा बस्न नचाहेको बताउँदै ललितपुर बारले प्रहरीमा जाहेरी दर्ता गर्न लागेको जनाइएको छ। ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागिएको हो । उनीहरुविरुद्ध प्रमाण नष्ट गरेको आरोप बारले लगाएको छ।
तामाङले घुस मागेपछि विवाद भएको र विवादकै क्रममा हातपात भएको दाबी बारको छ । उक्त विवादको ‘सिसीटिभी फुटेज’ श्रेष्तेदार पाण्डेले गायब बनाएको भन्दै बारले जाहेरीमा दुबैजनालाई कारवाहीको माग गर्ने भएको छ । तर ललितपुर जिल्ला अदालत प्रशासनले छलफलमा रुची नदेखाएको र प्रमाणसमेत नष्ट गरेको भन्दै कानुन व्यवसायी प्रहरीमा जान लागेका हुन्।
यता कर्मचारीले आइतबार अपरान्ह १ बजेबाट अदालतका कामकारवाही ठप्प पारेका छन् । लामिछानेको कुटपीटबाट नायब सुब्बा तामाङको मुख, दाँत र हातमा चोट लागेको थियो। तलपट्टीका दुईवटा दाँत समेत हल्लिएको कर्मचारीले बताएका छन्।
यसैबीच उच्च अदालत बार एसोसिएसनले आइतबार नै एक विज्ञप्ति निकालेर अधिवक्ता लामिछानेको रिहाको माग गरेको छ।











