Kathmandu Press

देश र जनताकाे पक्षमा ऐतिहासिक काम गर्ने मेरो संकल्प हो : प्रधानमन्त्री

‘मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’
देश र जनताकाे पक्षमा ऐतिहासिक काम गर्ने मेरो संकल्प हो : प्रधानमन्त्री

काठमाडौं, असार १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन्।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको भेटमा प्रधानमन्त्री दहालले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताए।

‘मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ,’ उनले भने, ‘जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।’

प्रधानमन्त्री दाहालले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गरे। उनले भने, ‘आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु।’

विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवद्र्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गरे।

‘विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ,’ उनले भने, ‘आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन्।’

नेपाली र नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको उनले बताए । नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता  भएको उनको भनाई थियो ।

विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक भएको उनले बताए।

 

प्रकाशित मिति: १४:४० बजे, आइतबार, असार १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्