कर्मचारीको आन्दोलनले अदालतको काम प्रभावित
सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्नेपछि अदालतको काम प्रभावित बनेको हो।
काठमाडौं, असार १७ : न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएपछि देशभरका न्यायलयको काम प्रभावित बनेको छ।
सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका चार वटै कर्मचारी संगठनहरुले आह्वान गरे अनुसार न्यायालयका कर्मचारीहरुले आज दिउँसो साढे १ बजेसम्म काम रोक्नेपछि अदालतको काम प्रभावित बनेको हो।
उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ। कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको विरोधमा देशभरका न्यायलयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिए । उनले अदालतमा रहेका कर्मचारीका आधिकारीक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेको र अदालतहरूमा सुनुवाइ हुन नसकेको बताए ।
असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ।
अधिवक्ता लामिछाने प्रहरी हिरासतमा रहेका छन् । नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन पनि दिएकी छन्।
कानुन व्यवसायीका संगठनहरूले पनि विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेलाई प्रहरी हिरासतबाट रिहाइ माग गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।











