‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त’
कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे।
काठमाडौं, असार १६ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन्।
चीन भ्रमणमा रहेका श्रेष्ठले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए।
‘कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ,’ उनले भने, ‘पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेको छ।’
कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे।
‘जो सुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन। अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ,’ उनले भने।
मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उनले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गरे।
मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताए। विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उनले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताए।
राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्दै उनले जनताको जीनवस्तर बदल्ने गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।











