Kathmandu Press

चितवनको इच्छाकामनामा पुल निर्माण गर्न श्रमदान

नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन्।
चितवनको इच्छाकामनामा पुल निर्माण गर्न श्रमदान

चितवन, असार १६ : चितवनको इच्छाकामना गाउँपालिका-७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ। जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो।  

नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका  छन्। उनले भने, 'पुल निर्माणका लागि वडा नं ७ बाट मात्रै नभई अन्य वडाबाट पनि श्रमदान गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ।' श्रमदानमा आउनेलाई स्थानीयले खाना र खाजाको व्यवस्थासमेत गरिदिएको उनले  बताए। 

श्रमदान गर्नेहरुको हरेक दिन उत्साहजनक सहभागिता भइरहेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए। असार ९ गतेदेखि निर्माण सुरु गरिएको उक्त पुलको काम असारभित्र सम्पन्न गर्ने गरी भइरहेको उनले जानकारी दिए। पुल निर्माणका लागि पालिकाले आवश्यक सामग्री तथा प्राविधिकका लागि बजेट व्यवस्था गराएको अध्यक्ष गुरुङले बताए। 

पुल निर्माण सम्पन्न नहुँदासम्म हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलामा पुल निर्माण थालिएको वडाध्यक्ष बमबहादुर रानाले बताए। पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुनेछन्।

हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण स्थानीयले आवागमनमा सास्ती खेप्दै आउनुपरेको थियो। गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयले  दैनिक श्रमदान गर्दै आएका छन्।

प्रकाशित मिति: १३:०९ बजे, शनिबार, असार १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्