दर्जन बढी स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध
सिद्धार्थ राजमार्गको पाल्पा खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान, सिद्धबाबा, झुम्सा, पानीमिल, कालीमाटीलगायत दर्जन बढी स्थानमा पहिरो खसेको बताइएको छ।
पाल्पा, असार १६ : अविरल वर्षापछि आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
सिद्धार्थ राजमार्गको पाल्पा खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान, सिद्धबाबा, झुम्सा, पानीमिल, कालीमाटीलगायत दर्जन बढी स्थानमा पहिरो खसेको बताइएको छ।
दोभान(सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगासहितको पहिरो खसेको र पानी परिरहेकाले पहिरो हटाउन नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ। यस्तै, माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ।
रातिदेखि परेको अविरल वर्षाका कारण आर्यभन्ज्याङ–राम्दी सडकको रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुने नजिकै माथिल्लो भागबाट बगेर आएको लेदोका कारण सडक अवरुद्ध भएको छ। आर्यभन्ज्याङ–रामपुर सडकको जब्गादी नजिकै पहिरो खसेको छ।
तानसेनदेखि गुल्मी जाने सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ े। पाल्पाकै कालीगण्डकी करिडोर अन्तर्गत सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि रामपुर जाने सडक अवरुद्ध भएको छ।











