थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उनले बताए। लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उनले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताए।
काठमाडौं, असार १५ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन्।
चीनको सिचुवान प्रान्तको छेन्दुमा सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उनले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए।
नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरे। ‘नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौं, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौं ।’
वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उनले बताए। लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उनले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताए।
‘हामीले २०१९ मा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित गरेको छौं। जसले लगानीको नाफा आफ्नो देशमा लैजानका निम्ति सुनिश्चित गरेको छ । कुनै पनि लगानीकर्तामाथि भेदभाव नगर्ने कुराको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने।
सबै सेवा एकलबिन्दुबाट लिन सकिने व्यवस्था मिलाइएको बताउँदै उनले सार्वजनिक निजी साझेदारी लगानी ऐन पनि लागू गरिसकेको उल्लेख गरे। यसले वैदेशिक लगानीका ठूला परियोजनालाई अगाडि बढाउन सहयोग पुग्ने पनि बताए।
चीनले नेपालको विकास प्रक्रियामा धेरै नै सहयोग गर्दै आइरहेको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक सहकार्यका विविध क्षेत्रबारे दुई मुलुकबीच छलफल भइरहेको बताए। नेपालका लागि चीन ठूलो वैदेशक लगानीको स्रोतका रुपमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालमा थप लगानी बढाउन आग्रह गरे।











