‘पढेर विदेश जानुभन्दा यहीँ अवसर छ’
विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए।
चितवन, असार १५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन्।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए।
विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए।
‘एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन,’ ओलीले भने। यहाँ जति अवसर विदेशमा नमिल्ने उनको भनाइ थियो ।
पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै भन्ने भन्दै अध्यक्ष ओलीले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताए।
नेपालको कृषिलाई आधुनिक तरीकाले गर्न सकिने भन्दै उनले देशलाई आवश्यक पर्ने खाद्यान्न आफैंले उत्पादन गर्नुपर्ने बताए। उन उत्पादित वस्तु बिक्री नभएर सडकमा छरिने क्रम रोक्न प्रविधिको प्रयोगबाट उत्पादित वस्तुको सुरक्षित भण्डारण गर्न सक्नुपर्ने उनको भनाइ थियो।
हरेक काममा सक्रियता भए मात्रै सफल हुने भन्दै उनले कुन काम कसरी गर्ने र कसले गर्ने भन्ने विषय अध्ययन गरेर गर्न सके नेपालमा नै स्थापित हुन सकिने उल्लेख गरे।
वैदेशिक रोजगारमा गएर फर्कंदै गर्दासमेत यहाँ स्थापित हुन समय लाग्ने भन्दै यहाँ अहिलेदेखि काम गर्न सके राम्रो हुने उनले बताए। कृषि व्यवसाय र कृषि उद्योगबाट सफल बन्न सकिने उनको भनाइ थियो।











