विवेकशील साझाले सार्वजनिक गर्याे नेपालको गौरवमय सांस्कृतिक मानचित्र
नयाँ पुस्तालाई गौरवमय ईतिहास सम्झाउने, धरातलीय यथार्थ बुझाउने अभियान चलाईने भन्दै विवेकशील साझा पार्टीले शुक्रबार ललितपुरस्थीत पार्टी कार्यालयमा साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।
काठमाडाैं, असार १५ : विवेकशील साझा पार्टीले नेपालको गौरवमय सांस्कृतिक मानचित्र सार्वजनिक गरेको छ।
नयाँ पुस्तालाई गौरवमय ईतिहास सम्झाउने, धरातलीय यथार्थ बुझाउने अभियान चलाईने भन्दै विवेकशील साझा पार्टीले शुक्रबार ललितपुरस्थीत पार्टी कार्यालयमा साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।
अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन साँस्कृतिक मानचित्र सार्वजनिक गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिए।
हालै छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भू–भागलाई समेत राखेर बनाईएको ’अखण्ड भारत’को नयाँ नक्सा प्रति नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कुटनीतिक नोट समेत पठाउन नसकेको उहाले बताए।
यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको बास्कोटाले बताए।
नेपालको सुगौली सन्धी अगाडीको भूभाग र वर्तमान भूभागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वौद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन्।











