Kathmandu Press

बेरुजु घटाउन संसद्ले प्रभावकारी भूमिका खेल्छ : सभामुख घिमिरे

बेरुजु घटाउन संसद्ले प्रभावकारी भूमिका खेल्छ : सभामुख घिमिरे

काठमाडाैं, असार १५ : सभामुख देवराज घिमिरेले अहिले देखिएको बेरुजुको अवस्था घटाउन सङ्घीय संसद्ले प्रभावकारी भूमिका खेल्ने र आफूले त्यसका लागि गम्भीर भएर पहल गर्ने बताएका हुन्। 

महालेखा परीक्षकको कार्यालयको ६५औँ वार्षिकोत्सव समारोहमा सभामुख घिमिरेले महालेखापरीक्षकको कार्यालयले औँल्याएका बेरुजु समस्या समाधानको अभियानमा सङ्घीय संसद् पनि सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए। 

'पारदर्शी ढंगबाट समयमै हिसाबकिताब फर्छ्याेट गर्ने, असुलउपर हुनुपर्ने बेरुजु असुलका लागि सिफारिस गर्ने त्यसलाई कार्यान्वयन गर्ने विषयमा संसद्ले भूमिका खेल्नेछ,' सभामुख घिमिरले भने, 'लेखापरीक्षणका क्षेत्रमा अन्य केही कमीकमजोरी छन् भने त्यसलाई दुरुस्त बनाउन पनि संसद्को पहल रहनेछ।'

पछिल्ला वर्षमा बेरुजुको आँकडा बढ्दै जानुमा कुन पक्ष र निकाय जिम्मेवार छ भनेर हेरिनुपर्ने पनि उनको भनाइ छ। 'के कारणले गर्दा बेरुजु फर्छ्याेट हुन सकेनन् र हरेक वर्ष थपिँदै जान्छन् भन्ने कुराको वस्तुपरक ढंगबाट समीक्षा हुन जरुरी छ। कतै ऐन कानुनको अभावमा समस्या देखिएको भएमा त्यसलाई कसरी पूर्ति गर्ने भनेर सोच्न सकिन्छ,' उनले भने।

बेरुजु फर्छ्याेटका लागि मुख्य भूमिका खेल्नुपर्ने सङ्घीय संसद् र संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको प्रभावकारिता न्यून देखिएको उनको भनाइ छ। सभामुख घिमिरेले त्यसलाई सुधार गर्न आफ्नो प्रयास रहने पनि प्रस्ट पारे।  

कुनै दबाब, अभाव र प्रभावमा नपरेर पारदर्शी ढङ्गबाट लेखापरीक्षणका काम गर्न तथा लेखापरीक्षणबाट देखिएका बेरुजुहरुलाई समयमै फछ्र्यौट गर्ने लगायतका काममा तदारुकता देखाउन उनले जोड दिए।

अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्ला वर्षमा बेरुजु रकम बढ्दै जानु सबैको चासो र चिन्ताको विषय भएको बताउनुभयो । तीन तहका सरकारका संरचनाले प्रभावकारी काम गरे–नगरेको बारे चनाखो भएर हेर्न जरुरी रहेको उनको भनाइ छ । 

त्यस्तै, आर्थिक कारोबारलाई कसरी चुस्त र दुरुस्त बनाउने र आर्थिक अनुशासन पालन गर्ने विषयमा सुसुचित गराउनुपर्ने अवस्था आएको उनले बताए। साथै यसका लागि अर्थ मन्त्रालयले विभिन्न निकायबीच समन्वयकारी भूमिका खेलिरहेको र कुनै पनि बेथितिलाई नसहने भनेर काम गरिरहेको उनको भनाइ छ । 

बजेट रकमान्तरमा देखिएको विकृतिलाई अर्थमन्त्रालयले मिहीन ढङ्गले अध्ययन गरिरहेको तथा रोक्न प्रयास गरिरहेको उहाँले दाबी गरे।

'बजेट रकमान्तर गर्न किन आवश्यक पर्‍यो भनेर हेर्दै जाँदा धेरैजस्तो दुर्गम ठाउँका सडकमा हालिएको पैसा पछि रकमान्तर गरेर सुगमका सडकमा हाल्ने गरेको देखियो', अर्थमन्त्री महतले भने, 'ठेकेदारले काम गरेनन्, पूर्वतयारी नै नभएका आयोजनामा बजेट हालियो वा के कारणले यस्तो भयो भनेर अर्थ मन्त्रालयले हेरिरहेको छ।'
 

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्