ललिता निवास पक्राउ प्रकरणमा २४ घण्टाभित्र जवाफ पेस गर्न आदेश
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो। पक्राउपछि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले वारेशमार्फत रिट दिएका थिए।
काठमाडौं, असार १५ : सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका व्यक्तिको रिटमा २४ घण्टाभित्र कागज प्रमाणसहित लिखित जवाफ पेश गर्न प्रहरीलाई आदेश दिएको छ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो। पक्राउपछि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले वारेशमार्फत रिट दिएका थिए।
उनीहरुले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्ने कार्य गैरकानुनी रहेको दाबी उनीहरुको थियो। वन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले गृह मन्त्रालय र प्रहरीसँग बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न अनुमति दिएलगत्तै बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो।
सर्वोच्चले यसअघि दिकुमारी शाह र टिकाराम घिमिरेले दिएको रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जारी गरेको अन्तरिम आदेशसहित मिशिल पनि अवलोकनार्थ सँगै राखेर पेश गर्न भनेको छ।
२०७९ साउन १९ गते न्यायाधीश खतिवडाले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएका थिए।