काेसीमा चार दलका नेताहरूले सुरुमा बहुमतीय सरकार गठनको प्रयास गर्ने
कार्कीले सहमतीय सरकार गठनबारे अभिव्यक्ति दिइरहँदा गठबन्धनले भने सम्भावना नरहेको बताएका छन्। पाँचदलीय गठबन्धनका नेताहरुले सुरुमा बहुमतीय सरकार गठनको प्रयास हुने बताएका छन्।
विराटनगर, असार १५ : कोसीमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकारगठनको चर्चा सुरु भएको छ।
प्रदेशसभाबाट विश्वासको मत नपाएपछि कोसी प्रदेशको मुख्यमन्त्री पदबाट मुक्त भएका हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधि निर्वाचनको तयारीमा नरहेको र संविधानको धारा १६८ (३) अनुसार सबभन्दा ठुलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको बताइरहँदा पाँचदलीय गठबन्धनका नेताहरुले भने बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन्।
कार्कीले सहमतीय सरकार गठनबारे अभिव्यक्ति दिइरहँदा गठबन्धनले भने सम्भावना नरहेको बताएका छन्। चार दलका नेताहरुले सुरुमा बहुमतीय सरकार गठनको प्रयास हुने बताएका छन्।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ। माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छ। कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन्।
प्रदेशसभाको सबभन्दा ठुलो दल एमालेसँग ४० सिट छ भने यसअघि एमालेसँग सहकार्य गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ सांसद छन्। यो दुईदलीय गठबन्धनसँग पनि ४६ सांसद छन्।
कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले बहुमत जुटाएर गठबन्धनको सरकार गठनको प्रयास हुने बताए। प्रदेशसभामा ९३ सदस्य रहेको भन्दै उनले भने, ‘अहिले हामीसँग ४६ छ। बाँकी रहेको संख्याबाट प्लस गराउने कोसिस गर्छौं ।’ राप्रपा आउन सक्ने सम्भावना रहेको पनि उनले सुनाए। सहमतीय सरकार गठनको सम्भावनालाई पनि उनले नकार्न सकेनन्।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए। तथापि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे सहमति जुट्न बाँकी रहेको उनको भनाइ थियो। नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताए। सरकारमा मुख्यतया माओवादी र कांग्रेसको दाबी छ।
संविधानको धारा १६८ उपधारा २ अनुसार सरकार गठनको आह्वान भए दुई वा दुईभन्दा बढी दलहरूको सरकार बन्नेछ।











