Kathmandu Press

म अझै सर्वपक्षीय सरकार बनाउने प्रयासमा छु : मुख्यमन्त्री कार्की

आज (शुक्रबार) को प्रदेशसभा बैठकमा बोल्दै उनले आफूले आफ्नो पार्टीसँगै अरु पार्टीका नेतृत्वसँग परामर्श गरेको भन्दै उनले आफू सर्वपक्षीय सरकार गठनको पक्षमा रहेको बताएका हुन्।
म अझै सर्वपक्षीय सरकार बनाउने प्रयासमा छु : मुख्यमन्त्री कार्की

विराटनगर, असार १५ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अझै सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन्।

आज (शुक्रबार) को प्रदेशसभा बैठकमा बोल्दै उनले आफूले आफ्नो पार्टीसँगै अरु पार्टीका नेतृत्वसँग परामर्श गरेको भन्दै उनले आफू सर्वपक्षीय सरकार गठनको पक्षमा रहेको बताएका हुन्।

बिहीबारको बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए। सो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आज (शुक्रबार) को बैठकमा एमाले संसदीय दलका नेता समेत रहेका उनले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भए पनि आफू तयार रहेको बताएका हुन्।

सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने दाबी पनि उनले गरे। ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्नेवाला छैन,’ उनले भने। 

एमाले संविधानको सर्वोच्चताको विषयमा स्पष्ट भएकाले शंका–उपशंका नगर्न आग्रह गरे । उनले संसारका कुनै पनि कम्युनिष्टहरूले स्वीकार नगरेको संविधानको सर्वोच्चता २०४६ सालमै एमालेले स्वीकार गरेको दाबी पनि गरे।  ‘एमालेले बहुदलीय जनवाद मानेको छ, म एमालेको कायकर्ता भएकाले सदनबाट भाग्दिनँ,’ उनले भने। 

उनले आफू संविधान र प्रदेशसभा नियमावली अनुसार नै कोशी प्रदेशसभाका सभामुखसँग समय माग गरे पनि अतिरञ्जित बनाउँदै मुख्यमन्त्री भागेको भन्ने बजार हल्ला फिँजाइएको बताए।

बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची भएपनि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, असार १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्