‘नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य’

काठमाडौं, असार १५ः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छिन् ।
बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको बताएकी छिन् ।
‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै प्रविधि पनि हस्तान्तरण हुन्,’ उनले भनिन्, ‘प्रत्यक्ष वैदेशिक लगानीले नयाँ रोजगारीका अवसर पनि सिर्जना गर्ने भएकाले नेपालजस्तो देशको विकासका लागि वैदेशिक लगानी निकै आवश्यक छ ।’
डा. राणाले नेपालमा लगानीमैत्री वातावरण रहेकाले यहाँ लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरूलाई आग्रह पनि गरेकी छिन् । उनले नेपालमा लगानीका लागि उचित वातावरण र लगानीका प्रशस्तै सम्भावनाहरू भएकोमा जोड दिइन् । हाल लगानी गरिरहेका कतिपय मल्टिनेसनल कम्पनीहरूले राम्रो मुनाफा लिएको बताउँदै सबै लगानीकर्तालाई नेपालमा लगानी गर्न पनि उनले आह्वान गरेकी थिइन् ।
उनले नेपालले खुला, उदार र बजारमुखी नीति अवलम्बन गरेको भन्दै नेपालमा लगानीमैत्री वातावरण रहेको बताइन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दोस्रो पुस्ताको आर्थिक सुधारका लागि विभिन्न एजेन्डा सार्वजनिक गरेको उनको भनाइ छ । डा. राणाले बजेटमा लागत घटाएर प्रतिस्पर्धात्मक क्षमताको विकास, उत्पादकत्व र दक्षता अभिवृद्धि, लगानीको वातावरण सिर्जना गर्न संस्थागत सुधार, स्वदेशी र विदेशी लगानी प्रवर्द्धन, डिजिटल अर्थतन्त्रका विकास र औद्योगिक क्रान्तिलाई अवलम्बन गर्ने नीति अङ्गिकार गरेको बताइन् ।
उनले नेपालमा उत्पादित सामानले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतमा भन्सार र कोटामुक्त बजारको पहुँचसमेत पाउने बताइन् । नेपाल विश्व व्यापार संगठन र बहुपक्षीय लगानी ग्यारेन्टी संगठनको सदस्य रहेको र यसले व्यापार र लगानी नीति तथा अन्तर्राष्ट्रिय मापदण्डको नियमन सुनिश्चित हुने पनि उनले उल्लेख गरिन् ।
नेपालले दक्षिण एसियामुक्त व्यापार सम्झौता (साफ्टा), सार्क एग्रिमेन्ट अन ट्रेड इन सर्भिसेज (स्याटिस) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)जस्ता विभिन्न क्षेत्रीय समूहको हस्ताक्षरकर्ता रहेको समेत उनले बताएकी छिन् ।











