Kathmandu Press

सूर्यविनायकमा ‘घरेलु, कृषि तथा पर्यटन’ मेला

नगरपालिकाले आज मेलास्थल जगातिस्थित तरकारी बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले कृषि र पर्यटनको विकास गर्ने लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिए।
सूर्यविनायकमा ‘घरेलु, कृषि तथा पर्यटन’ मेला

भक्तपुर, असुार १४ : सूर्यविनायक नगरपालिकाले धान दिवसका अवसरमा तीनदिने ‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला–२०८०’ आयोजना गर्ने भएको छ। 

नगरपालिकाले आज मेलास्थल जगातिस्थित तरकारी बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले कृषि र पर्यटनको विकास गर्ने लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिए।

उनले धान दिवसका अवसरमा असार १५ गते बिहान १०ः०० बजे मेलाको उद्घाटन गरिने जानकारी दिए। मेला १७ गते साँझसम्म सञ्चालन हुनेछ।

‘दिगो विकास व्यवस्थित सहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नगरपालिकाको नारालाई सार्थक बनाउँदै दीर्घकालीनरूपमा कृषि, घरेलु उद्योग र पर्यटनलाई मुख्य आर्थिक मेरुदण्ड बनाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको प्रमुख थापाले बताए।

'सूर्यविनायकले पहिलोपटक यस्तो मेला आयोजना गर्दैछ। नगरपालिकाको समग्र आर्थिक विकासको रूपमा रहेका घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै कृषिलाई पर्यटनसँग जोडेर यहाँका उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोडने उद्देश्यले मेलाको आयोजना गर्न लागेका हौँ।'

पत्रकार सम्मेलनमा नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साथै दिगो विकासको लक्ष्य हासिल गर्न मेलाले टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

मेलाबाट स्थानीय उद्योगी तथा व्यवसायीको सञ्जाल विस्तार हुने बताउँदै स्थानीय मौलिक उत्पादन तथा वस्तुको स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रियस्तरसम्म पुहुँच अभिवृद्धि गर्दै कृषिलाई पर्यटन उद्योगसँग जोडेर लैजाने उनले बताइन्। 

कार्यक्रममा नगरपालिकाका प्रवक्ता रवीन्द्रप्रसाद सापकोटाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन र सीपलाई उजागर गरिने बताए। 

मेलामा नगरपालिका भित्रका लघु, घरेलु साना उद्यमी एवं महिला उद्यमीको उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसाय, स्थानीय मौलिक उत्पादन जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाँडाकुँडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादन, पर्यटन उद्योगका उत्पादन, मौलिक नेवारी खाजा, समयबजी, यमरी, चटामरी, बारासहितको फुट फेस्टिबल हुने प्रवक्ता सापकोटाले जानकारी दिए। उहाँका अनुसार मेलामा मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक–गायिकाको साङ्गीतिक प्रस्तुति पनि हुनेछ। 

प्रवक्ता सापकोटाका अनुसार मेलामा ९० वटा निःशुल्क स्टलको व्यवस्था गरिएको छ। मेलामा पचास हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्