अदालतभित्रै महिला कर्मचारीमाथि कानुनव्यवसायीले गरे हातपात
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले बुधबार हातपात गरेको अदालतका एक कर्मचारीले काठमाडौं प्रेशलाई जानकारी दिए।
काठमाडौं, असार १४ : मुद्दाको मिसिल हेर्न नदिएको निहुँमा ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेका छन्।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले बुधबार हातपात गरेको अदालतका एक कर्मचारीले काठमाडौं प्रेशलाई जानकारी दिए। अपरान्ह ४ः३० बजेको समयमा अधिवक्ता लामिछानेले तामाङको मुखमा मुक्का प्रहार गरेका थिए।
‘मुद्दाको मिसिल र आदेश हेर्न फाइल बाहिर लान खोजेपछि तामाङ मेडमले हुन्न भन्नुभएछ। मिसिल बाहिर लान मिल्दैन भन्दा वकील लामिछानेले मुखमा मुड्कीले हानेका हुन्,’ प्रत्यक्षदर्शी ति कर्मचारीले भने, ‘मुक्का हान्दा तामाङ मेडमको तल्लोपट्टीका दुईवटा दाँत हल्लिएका छन्। मुखमा घाउ लागेको छ।’
अदालतमा भिडभाडको समय भएका कारण महिला कर्मचारीले मुद्दाको नक्कल सारेर हेर्न भनेपछि अधिवक्ता लामिछाने उत्तेजनामा आएका थिए। ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो रु तँलाई देखाउँछु’ भन्दै हातपातमा उत्रेको भनाई कर्मचारीको छ।
कानुनव्यवसायी लामिछानेले महिला कर्मचारीलाई कार्यालयभित्रै लछारपछार समेत गरेका थिए। लछारपछार गर्दा नायब सुब्बा तामाङको सरकारी पोसाकको कमिजको बाहुलासमेत च्यातिएको जनाइएको छ।
हातपात भएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिई तत्काल ललितपुर प्रहरीको जिम्मा लगाएको छ। हातपातपछि पीडित कर्मचारीबाट जिल्ला प्रहरी परिसर ललितपुरमा कारबाहीका लागि जाहेरीसमेत दिएकी छिन्।











