मैले विश्वासको मत नपाए मध्यावधि निर्वाचनमा जानुपर्ने परिस्थिति आउन सक्छ : मुख्यमन्त्री कार्की
आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिनेहरुप्रति अविश्वास पैदा हुने बताए।
विराटनगर, असार १४ : माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरेका छन्।
आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिनेहरुप्रति अविश्वास पैदा हुने बताए। ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ,’ उनले भने, ‘मैले विश्वासको मत नपाए मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ। के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं? यो प्रदेशसभा तयार छ? नेपालको संघीयता तयार छ?’
मुख्यमन्त्री कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको र आफू त्यसका लागि तयार रहेको समेत उनले बताएका छन्। उनले प्रदेश मध्यावधितर्फ जाने भन्दै त्यो खर्चिलो हुने र प्रदेशकै संरचनाप्रति वितृष्णा बढाउने काम हुने बताए ।
‘बिनाकारण प्रदेश संरचनालाई जनताको अगाडि मुखै देखाउन नहुने जुन खालका काम हामीले गरिरहेका छौं। फेरि पनि भोलि यो प्रदेश हुनेछ। प्रदेशसभाको माननीय हुनेछन्। मैले हिजो हुँदा के गरेँ भनेर आत्मसाक्षी राखेर गर्यो भने पछुताउनुपर्नेछ । यो प्रदेश सरकार ९२ जना माननीय र प्रदेशभरका जनताको आफ्नै सरकार हो।’
आफू मुख्यमन्त्री भएको ६ महिनामा कहीँ नचुकेको उनले दाबी गरे। प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको बताउँदै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे।
उनले आफ्नो सरकार सफल भएको बताए। ४० सिट भएको आफ्नो दलले २ मन्त्री लिएर सरकार चलाउँदा कुनै विवाद र समस्या नभए पनि साना दलमा विवाद देखिएको उनले बताए।
मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए। उनले अघिल्लो सरकारका कारण आगामी आर्थिक वर्षमा बहुवर्षीय ठेक्काका कार्यक्रमहरु सञ्चालन गर्न नै नसक्ने अवस्थामा पुगेको मुख्यमन्त्री कार्कीले बताए।











