एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएपछि भोलि बिहीबारसम्मका लागि बैठक स्थगित भएको हाे।
सुर्खेत, असार १३ : प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ।
बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी एमालेले दिएपछि भोलि बिहीबारसम्मका लागि बैठक स्थगित भएको हाे।
बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची थियो। तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले समय लिएर बोल्दै अर्थमन्त्रीले पैत्रिक सम्पत्ति बाँडे जसरी बजेट बाँडेको आरोप लगाए र बजेट संशोधन नभएसम्म संसदको कारबाही अगाडि बढ्न नदिने अडान लिए।
त्यसपछि सभामुख नन्दा गुरुङले पटकपटक सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरिनन्। एमाले उनकाे आग्रह मान्न तयार नभएपछि उनले आधा घण्टाका लागि बैठक स्थगित गरिन्।
त्यसपछि बैठक पुन सुरु नै हुन नसकेपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएकाे।