एमालेकाे मागपछि बजेटमा मतदान
सभामुखले बजेटको पक्षमा बहुमत रहेको भन्दै पारित भएको घोषणा गरेका थिए। बजेट पारित भएपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरेका छन्।
काठमाडौं, असार १३ : सभामुख देवराज घिमिरेले बजेट पारित भएको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मत विभाजनको माग गरेको छ।
सभामुखले बजेटको पक्षमा बहुमत रहेको भन्दै पारित भएको घोषणा गरेका थिए। बजेट पारित भएपछि एमालेका सचेतक महेश बर्तौलालले मत विभाजनमा जान माग गरेका छन्।
सचेतक बर्तौलाले बजेटको विपक्षमा मत धेरै रहेको दाबी गरेका छन्। त्यसपछि सभामुखले मतदानको प्रक्रिया सुरु गराएका छन्।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विनियोजन विधेयक पास हुनका निम्ति बहुमत आवश्यक पर्दछ। प्रतिनिधिसभामा सत्तारुढ दलहरु नेपाली कांग्रेसका ८८, नेकपा माओवादीको ३२, जनता समाजवादी पार्टी (जसपा)को १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको ४ र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन्।
प्रतिपक्षीतर्फ नेकपा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको एक/एक सिट छ।











