रासायनिक मलको अभाव हटाएको र सबै जनतामा विद्युतकाे पहुँच पुग्ने आधार बनाएको प्रधानमन्त्रीकाे दाबी
बुधबारकाे प्रतिनिधिसभा बैठकमा उनले चालु आर्थिक वर्षमा ७८.५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरे।
काठमाडौं, असार १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन्।
बुधबारकाे प्रतिनिधिसभा बैठकमा उनले चालु आर्थिक वर्षमा ७८.५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरे।
‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे तर त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं, यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं,’ उनले भने। आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि उनले जानकारी दिए ।
देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्ययन गरिरहेको बताउँदै भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल भइरहेको पनि उनले जानकारी दिए।
त्यस्तै प्रधानमन्त्री दाहालले मुलुकका सबै जनतामा विद्युतको पहुँच पुग्ने आधार तयार भएको दाबी पनि गरे। गएको एक वर्षमा थप ३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको पनि उनले जानकारी दिए।
नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौताको तयारी भएको जानकारी पनि उनले दिए। ‘यो त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालको आर्थिक विकासमा कोशेढुंगा बन्नेछ,’ उनले भने।
भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने परिस्थित बन्नु नेपालका लागि निकै महत्वपूर्ण उपलब्धि भएकाे उनकाे भनाइ थियाे।











