राम्दीमा पुल बन्दै
स्याङ्जा, असार १३ः रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्डअन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
नेपाल–भारत सुनौली नाकाबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जा, पोखरा, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, मुस्ताङ र मनाङ जोड्ने यो छोटो बाटो हो । पुरानो पुल २०२८ सालमा निर्माण भएको हो । हाल सञ्चालनमा रहेको उक्त पुल जीर्ण बनेपछि सरोकारवालाले नयाँ पुल बनाउन माग गर्दै आएका थिए ।
पुल महाशाखाले ‘आर्च थ्रु’ डिजाइनको मोटरेबल पुल निर्माणको जिम्मा, रेखदेख, ठेक्का सम्झौतालगायत काम गरेको छ । राम्दीमा बन्न लागेको मोटरेबल पुलको डिजाइन अमेरिका र थाइल्यान्डमा पुल निर्माणको क्षेत्रमा काम गरेका नेपालीले तयार पारेको पुल सेक्टर पोखराका प्रमुख नवराज बाँस्तोलाले बताए । ‘आर्च थ्रु’ डिजाइनमा निर्माण हुन लागेको मोटरेबल पुलको लम्बाइ १०८ मिटर र चौडाइ ११ मिटरको हुने छ । नयाँ बन्ने पुल पुरानो ट्रस ब्रिजभन्दा १५ मिटर बढी लामो र पुरानो पुलसँग जोडेर पूर्वपट्टि निर्माण हुने छ ।
पुल तीन वर्षमा सक्ने गरी २०७९ असार ३० गते हिम सगरमाथा प्रालि चितवनसँग ठेक्का सम्झौता भएको थियो । डिजाइन समयमै तयार नहुँदा निर्माणमा ढिलाइ भएको बाँस्तोलाले बताए । पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपैयाँको सम्झौता भएको छ ।
ट्रस ब्रिज जीर्ण हुँदा सवारीसाधन आवगमनमा खतरा भएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताए । अहिले पुलमा जोखिम बढेको भन्दै १५ टनभन्दा बढी क्षमता भएका सवारीसाधनलाई आवागमनमा रोक लगाइएको छ । पुल जीर्ण हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लाका व्यापारीले नोक्सानी व्यहोर्नुपरेको पनि प्रमुख भट्टराईले बताए । राम्दीको पुल स्याङ्जाको लाइफ लाइन भएको जिकिर गर्दै पुल बन्ने कुराले सबैमा आशा जगाएको उनले बताए ।
गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ध्रुव श्रेष्ठले १५ टनभन्दा बढी सामान बोकाएर ढुवानी गर्न नपाउँदा व्यापारी तथा उपभोक्ता मर्कामा परेको बताए । हाल सुनौली हुँदै आउने १५ टनभन्दा बढी मालसामान बोकेका गाडी गैँडाकोट–चितवन–पोखरा हुँदै स्याङ्जा आउनुपर्ने बाध्यता छ । लामो दूरीबाट सामान ढुवानी गर्नुपर्दा स्याङ्जामा सामान महँगो पर्ने भएकाले अब राहत महसुुस गरेको श्रेष्ठले बताए ।
हाल सञ्चालनमा रहेको ट्रस ब्रिज २०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा सम्पन्न भएको थियो । सो पुलको तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेका थिए ।