Kathmandu Press

३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थालाई महानगरको निर्देशन 

प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो ।
३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थालाई महानगरको निर्देशन 

काठमाडौं, असार १३ : काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।

प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारण सभा, ३ महिनाभित्र लेखा परीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले पहिलोपटक सूचना प्रकाशित गरेको हो ।

‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २  ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरेको छ।

ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,’ बुधबार प्रकाशित सूचनामा भनिएको छ, ‘यस्तो कानूनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौँ महानगरपालिका सहकारी विभागमा उक्त विवरणहरू बुझाई अद्यावधिक गर्नुहुन सम्बन्धित सबै सहकारी संस्थाहरूलाई अनुरोध गरिन्छ।’

अन्यथा कानुन बमोजिम कारबाही गरिने उसले चेतावनी दिएको छ।

प्रकाशित मिति: ०८:३९ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्