रक्षामन्त्री खड्कासँग संयुक्त राष्ट्रसंघका उपमहासचिवको भेट

काठमाडौं, असार १२ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले शिष्टाचार भेट गरेका छन् ।
रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा राष्ट्रसंघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
उनले नेपालले राष्ट्रसंघको अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाल सक्रियतापूर्वक सहभागी हुँदै आएको तथा महासचिवले अघि बढाएको शान्ति कार्यप्रति नेपाल सरकार प्रतिबद्ध रहेको बताए । अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा शान्ति सैनिक पठाउने दोस्रो ठूलो राष्ट्र भएकोमा प्रसन्नता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले नेपालले राष्ट्रसंघको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको समेत जानकारी गराए ।
करिब दुई हजार फौजको सातवटा युनिटलाई राष्ट्रसंघबाट माग भएको खण्डमा छोटो अवधिमै खटाउने गरी तयारी अवस्थामा राखिएको सो अवसरमा जानकारी गराइयो । रक्षामन्त्री खड्काले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई प्रभावकारी बनाउन प्रत्येक मिसनमा आवश्यक पर्ने उपकरण एवं सवारी साधनको व्यवस्थापन तथा शान्ति कार्यमा खटिने सैनिकलाई मिसन इलाकामा खटाउनुपूर्वको तालिम प्रभावकारीरूपमा प्रदान गरिने पनि बताए ।
उनले राष्ट्रसंघको वातावरण संरक्षण रणनीतिप्रति नेपाल प्रतिबद्ध रहेकाले सहकार्यमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा विभिन्न मिसनमा कार्बन उत्सर्जन कम गर्ने वैकल्पिक ऊर्जासम्बन्धी आयोजना सञ्चालन गरिएको जानकारी दिए । उपप्रधानमन्त्री खड्काले सबै मिसनलाई न्यून कार्बनयुक्त बनाउने गरी प्रक्रिया अगाडि बढाइएको समेत बताए ।
राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्सले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिक अनुशासन र कार्यसम्पादनमा समेत अब्बल रहेको उल्लेख गरे ।
उनले शान्ति मिसनको सुरक्षा वातावरण चुनौतीपूर्ण हुँदै गइरहेको स्थितिमा नेपालले निःशर्तरूपमा राष्ट्रसंघको आह्वानमा निरन्तररूपमा शान्ति सैनिक खटाइरहेकोमा प्रशंसा गरे ।
उपमहासचिव ल्याक्रोइक्सले केही समयअघि सातौं संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संघ गोष्ठी शान्ति सफलतापूर्वक गरेकोमा खुशी व्यक्त गर्दै उपलब्धिहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगिने विश्वास दिलाए । नेपालले संयुक्त राष्ट्रसंघको वातावरण संरक्षण रणनीति कार्यान्वयनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले सबै मिसनलाई न्यून कार्बनयुक्त बनाउने कार्यमा नेपालसँग सहकार्य गर्न राष्ट्रसंघ तत्पर रहेको बताए ।
नेपालको चार दिवसीय भ्रमणमा आएका उपमहासचिवले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका क्रममा उनी संयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी रहनेछन् । उनले पर्यटकीय महत्त्वका स्थानको अवलोकन भ्रमण गर्ने समेत कार्यक्रम रहेको छ ।
संयुक्त राष्ट्रसंघको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ । शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा रहिआएको छ । संयुक्त राष्ट्रसंघबाट माग भइआएको खण्डमा नेपालले १० हजार संख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।











