उपराष्ट्रपति यादवद्वारा वरिष्ठ ६ जना सर्जक सम्मानित

काठमाडौं, असार १२ः उपराष्ट्रपति रामसहायप्रसाद यादवले वरिष्ठ सङ्गीतकर्मी विजयकुमार श्रेष्ठ, वरिष्ठ गायक, गीतकार तथा सङ्गीतकार गणेश रसिक, नाट्य समालोचक तथा अनुसन्धानदाता प्रा. डा. रामचन्द्र पोखरेल, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, वरिष्ठ लोकगायक नवीन किशोर राई र वरिष्ठ रंगकर्मी भैरव क्षेत्रीलाई सम्मान गरको छन् । उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९’ समर्पण समारोहमा सर्जकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा उपराष्ट्रपति यादवले मुलुकको हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने विभिन्न जाति, भाषा, वर्ग, समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा समग्र राज्यको ध्यान जानुपर्ने बताएका छन् । उनले गीत, सङ्गीत, नाट्य बिदाको संरक्षण, सम्वर्द्धनसहित सर्वाङ्गिीण विकास तथा अध्ययन, अनुसन्धानमा अहोरात्र खटिने सर्जकलाई सम्मानित गर्न कन्जुस्याइँ गर्न नहुने धारणा पनि व्यक्त गरे ।
नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्म निरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको प्रसङ्ग उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, ‘मुलुकको संवैधानिक व्यवस्थाले बहुजाति, भाषा, संस्कृति र वेशभूषालगायतको संरक्षण तथा सम्वर्द्धनसहित समग्र भूगोल, वर्ग, धर्म, समुदाय र संस्कृतिलाई एकापसमा जोड्ने काम गरेको छ, विविधताको एकता हाम्रो हाम्रो मौलिक पहिचान हो, यसलाई नै आत्मसात् गरी अघि बढे राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता बलियो भई समग्रमा देश समृद्ध बन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।’
अग्रज स्रष्टा एवं सर्जकलाई सम्मानित एवं पुरस्कृत गर्ने संस्कारलाई निरन्तरता दिनुपर्ने खाँचो औंल्याउँदै उनले सम्मानित सर्जकलाई बधाई र आयोजक नाट्य प्रतिष्ठानलाई धन्यवाद पनि व्यक्त गरे ।












