बजेट पास गर्न आफ्ना सांसदहरूलाई माओवादी केन्द्रको ह्विप
नेकपा माओवादी केन्द्रले बजेट पास गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
काठमाडौं, असार १२ः नेकपा माओवादी केन्द्रले बजेट पास गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
माओवादी मुख्य सचेतक हितराज पाण्डेले एक विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्न आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न ह्विप जारी गरिएको बताएका छन् । प्रधानमन्त्रीको निर्देशन अनुसार ह्विप जारी भएको हो ।
माओवादी मुख्य सचेतक पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०÷८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ ।’
सत्ता घटक दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न यसअघि ह्विप जारी गरिसकेको छ ।











