'जलहरी प्रकरणमा संसदीय छानबिन समिति बनाउँदा राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्छ'
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन्।
काठमाडाैं, असार १२ : नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानबिन समिति बनाए राष्ट्रपतिलाई छानबिन समितिको संयोजक बनाउनुपर्ने बताएका छन्।
मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको जलहरीमा पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई मुछ्ने काम भएकाले वर्तमान राष्ट्रपति संयोजक र प्रधानमन्त्री र संस्कृति पर्यटन मन्त्रीलाई सदस्य बनाएर तीन सदस्यीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन्।
यस विषयमा संसदीय छानविन समिति गठन गर्न एमाले तयार रहेको भन्दै उनले समितिमा सांसदहरु नभएर संसदको अभिन्न अंगको रुपमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीलाई सहभागी गराउनुपर्ने जिकिर गरे।
त्यस्तै भट्टराईले सरकारी तवरबाट निर्माण हुने कामहरुमा पहकदमी लिने र शिलान्याश गर्नेको नाम राख्ने गरिएको भन्दै जलहरी बनाउदा पनि ताम्रपत्रमा पूर्व राष्ट्रपति र प्रधानमन्त्रीको नाम राख्नु स्वभाविक भएको जिकिर गरे।
उनले केही विषयमा एमालेलाई नियोजित रुपमा मुछ्ने काम भएको र मुलुकको ध्यान अन्यत्रै मोड्ने काम भएको उल्लेख गरे।
त्यस्तै सचिव भट्टराईले ललिता निवास प्रकरणमा पनि एमालेलाई बद्नाम गर्न खोजिएको भन्दै कोहि पनि एमाले नेताले गडबडी गरेको पुष्टि भए पार्टीले कारवाही गर्ने स्पष्ट पारे।