‘बजेट संशोधन हुन सक्दैन भन्ने कुरा साँचो होइन’

काठमाडाैं, असार १२ : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बहुमतले बजेट पारित हुने बताका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेटका विषयमा कानुनी हिसाबले आवश्यक विषय सच्याउन सक्ने र संशोधन पनि गर्न सकिने तर्क गरे। 'कानुनी प्रावधानले मिलेसम्म संशोधन गरेर नै बजेट पारित हुनेछ,' उनले भने, ‘संशोधन हुन सक्दैन भन्ने कुरा साँचो होइन।’
बजेट पास नभइदेओस्, सरकार असफल होस् भनेर प्रतिपक्षीले भन्नु स्वाचभाविक भएको उनले बताए।
त्यस्तै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले विपक्षी दलले त्रुटिलाई औल्याउने कुरा जायज भए पनि कुनै पनि कुरालाई अतिरञ्जित ढंगले प्रस्तुत हुन नहुने बताए।
उनले निर्वाचन आयोगलाई स्वतन्त्र र निष्पक्षका साथै बलियो बनाउन कांग्रेस अग्रसर नै हुने जिकिर गरे।
मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले र रास्वपाले जिल्ला निर्वाचन आयोग खोरज गर्ने तयारी भएको भन्दै विरोध गरेपछि अर्थमन्त्री डा प्रकाशशरण महतले निर्वाचन आयोगको जिल्ला संरचना अहिलेकै अवस्थामा कायम रहने जवाफ दिएका थिए।











