Kathmandu Press

मन्त्री मोदीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

मन्त्री मोदीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडाैं, असार १२ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गर्नुभएको छ। 

मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुगेका थिए। सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।

सो भेटमा मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहिआएको बताउँदै यस सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका विभिन्न स्थानीय तह र दक्षिण कोरियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए। 

भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध र सहयोग थप प्रागाढ र सुदृढ बनाउन लागिपर्ने बताए। 

त्यस अवसरमा राजदूत टियोङ्गले मन्त्री मोदीको कोरिया भ्रमणको सफलताको कामना गरे। मन्त्री मोदी कोरियाको दोस्रो ठूलो सहर बुसानमा यही असार २० गतेबाट आयोजना हुन लागेको मन्त्रीस्तरीय एक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै छन्।

प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्