मिश्रमविरुद्ध ‘अकूत सम्पत्ति’ आर्जन गरेको अभियोग
मिश्रले आर्जन गरेको सम्पत्तिको स्रोत नखुलेको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कारबाही गर्न अदालत समक्ष माग गरिएको छ।
काठमाडौं, असार १२ : सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध एक करोड ३० लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
मिश्रले आर्जन गरेको सम्पत्तिको स्रोत नखुलेको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कारबाही गर्न अदालत समक्ष माग गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनबाट सम्पत्तिको स्रोतको पुष्टि हुने आधार नदेखिएको ठहर भएको छ। मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्रको नाममा समेत लुकाएको पाइएको बताएको छ। उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी कायम गरिएको छ। मिश्रले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको बताउँदै परेको उजुरीमा अनुसन्धानपछि अख्तियारले उक्त रकम बराबरको आम्दानीको स्रोत नखुलेको निश्कर्ष निकालेको छ।
आयोगका अनुसार मिश्र २०५७ असार ८ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए। उक्त अवधिदेखि २०७८ कार्तिक २६ सम्मको अवधिमा उनको पारिश्रमिक, बचत, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, उनको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकमसमेत गरी एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा बराबरको आम्दानीको स्रोत खुलेको छ।
उक्त अवधिभित्र जग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, सेयर खरिद, उद्योग व्यवसायमा लगानी गरी जम्मा दुई करोड ४३ लाख ९१ हजार पाँच सय ६५ रुपैयाँ ७२ पैसा खर्च देखिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ। स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गर्दै जफत गरी सजाय र जरिवाना तोक्न माग गरेको छ।











