शिवसुतक गौरीभक्त बाबा हरिद्वारमा पक्राउ

काठमाडौं, असार १२ : विभिन्न विभिन्न व्यक्तिहरुबाट रकम ठगी गरेको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्ले पक्राउ परेका छन्।
राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकृतहरुसँग निकट सम्बन्ध रहेको बताउँदै ठगी गरेको आरोपमा परेको प्रहरी जाहेरीपछि काफ्ले भारतको हरिद्वारबाट पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले काफ्लेलाई भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याएको छ।
प्रहरीका अनुसार काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोपमा पीडितले प्रहरीमा जाहेरी दिएका छन्। पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेको भनाई समेत प्रहरीको छ।
काफ्लेले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाएर शिवसुतक गौरीभक्त बाबाका नाममा ठगी धन्दा चलाएको आराेप छ।
समस्यामा परेका व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको जाहेरी परेपछि ठगीको रहस्य उजागर भएको हो। काफ्लेलाई हाल सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।











