मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई साेधे स्पष्टीकरण

काठमाडौं, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै स्पष्टीकरण सोधेका छन् ।
नौबुँदे स्पष्टीकरणमा उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, राज्यले सुम्पेको जिम्मेवारी वहन गर्न नसकेकोलगायत आरोप लगाइएको छ।सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिए पनि त्यसका विरुद्ध लागेको आरोप पनि उनीमाथि लगाइएको छ।
पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीतिविपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन मात्रै गर्दा हुने अभिव्यक्ति दिएकोसहित अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रुवाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएकोलगायत विषय पनि स्पष्टीकरणमा उल्लेख छ।
सरकारले दातृ निकायसँग ऋण लिएर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि ती विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकेको पनि स्पष्टीकरणमा उल्लेख छ। ‘विमानस्थल सञ्चालकको समेत मुख्य भूमिकामा रहनुभएका तपाईंको कार्यक्षमता कमजोर रहेको किन नमान्ने?’ अधिकारीलाई स्पष्टीकरणमा सोधिएको छर।
मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्वतयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएकोलगायत विषय पनि स्पष्टकीरणमा समेटिएका छन्।











