र्यापर गिरिश खतिवडासहित तीनजनालाई कारबाहीकाे माग गर्दै रंगेली–विराटनगर सडक अवरुद्ध
घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै अन्सारीका आफन्त र स्थानीयले रंगेली–विराटनगर सडकखण्ड अवरुद्ध पारेका छन्। अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए।
विराटनगर, असार ११ : र्यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जि क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएको मासु व्यावसायी कासिद अन्सारीको मृत्यु प्रकरणलाई लिएर मोरङको कर्सिया बजार क्षेत्रमा तनाव सिर्जना भएको छ।
घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै अन्सारीका आफन्त र स्थानीयले रंगेली–विराटनगर सडकखण्ड अवरुद्ध पारेका छन्। अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको निष्पक्ष छानविन भइरहेको बताएको छ। प्रहरी स्रोतका अनुसार होटलमा लगाएको सिसामा ठोक्किँदा सिसाले मृतकको तिघ्रामा गहिरो चोट लागेको थियो। आफन्तले भने मासुको रकम लिन आउँदा होटलमा कुटपिट गरी हत्या गरेको दाबी गरिरहेका छन्। पीडित परिवारले गिरिश खतिवडासँगै क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।
प्रहरीले उनीहरूलाई पक्राउ नगरेको भन्दै आज (सोमबार) आफन्त र स्थानीयले रंगेली–विराटनगर सडकखण्डको कर्सिया बजार क्षेत्रमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन्।
असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु पुर्याउन आएका अन्सारी सिसाले काटिएर तिघ्रामा गहिरो चोट लागी घाइते भएका थिए। विराट नर्सिङ होममा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो।
रहस्यमय मृत्यु प्रकरणमा पीडितले किटानी जाहेरी दिँदासमेत अनुसन्धान नगरेको गुनासो आफन्तले गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि सिआइबीको टोली माग गरेका छन्।












