‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको स्वामित्व ग्रहण गर्न १ लाख विनियोजन’
मन्त्री लिम्बूले राखेपलाई खेल क्षेत्रको विकासका लागि जवाफदेही काम गर्ने गरि पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरी काम अघि बढेको बताए।
काठमाडाैं, असार १० : खेलकुदमन्त्री डिग बहादुर लिम्बुले धुर्मुस सुन्तली क्रिकेट (गौतमबुद्ध अन्तर्राष्ट्रिय) रंगशालाको स्वामित्व ग्रहण गर्न १ लाख विनियोजन गरिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पूरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न गर्ने बताएका हुन्।
उनले एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रम अन्तर्गत १७० स्थानीय तहमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको जिकिर गरे। त्यस्तै ७ सय ५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्प प्रतियोगिता गर्न बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।
उनले खेलाडीहरुको बृत्तिबिकास गर्दै विभिन्न प्रतियोगितामा भाग लिने वातावरण बनाउने बताए। चीनको होङझावमा सेप्टेम्वर २३ देखि अक्टुबर ८ सम्म हुने एसियाली खेलकुदका लागि २९ खेलका लागि २३३ खेलाडीहरुको बन्द प्रशिक्षण भइरहेको मन्त्री लिम्बुले जानकारी दिए।
मन्त्री लिम्बूले राखेपलाई खेल क्षेत्रको विकासका लागि जवाफदेही काम गर्ने गरि पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरी काम अघि बढेको बताए।











