‘मुक्तिनाथ’ को उपहारपछि ‘कालीगण्डकी आरती–भजन’
चैतन्यकृष्णले धर्म, संस्कार, संस्कृति र ऋषिपरम्पराको संरक्षणका लागि अभियान चलाउँदै आएका छन्। विमोचन कार्यक्रममा बोल्दै उनले आरतीको शास्त्रीय, वैज्ञानिक एवं व्यवहारिक पक्षमाथि प्रकाश पारेका थिए।
पोखरा, असार १० : कालीगण्डकीको आरती–भजन सार्वजनिक भएको छ। पहिलो पटक बनेको कालीगण्डकीको आरतीलाई शब्द कौतुकी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
कालीगण्डकी गुरुकुलम् पाल्पाद्वारा आयोजित संस्कृतभाषाभ्यास : कार्यक्रम शुभारम्भको अवसरमा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संस्थापक चैतन्यकृष्ण प्रभुले विमोचन गरेका हुन्। चैतन्यकृष्णले धर्म, संस्कार, संस्कृति र ऋषिपरम्पराको संरक्षणका लागि अभियान चलाउँदै आएका छन्। विमोचन कार्यक्रममा बोल्दै उनले आरतीको शास्त्रीय, वैज्ञानिक एवं व्यवहारिक पक्षमाथि प्रकाश पारेका थिए।
‘उत्तरवाहिनीको पवित्रतटबाट जीवनदायिनी कालीगण्डकीको नित्य आरती सुरुभएको र अब कालीगण्डकीको अन्य तटबाट पनि नित्य आरती हुनुपर्छ र हुनेछ,’ विमोचनकाक्रममा प्रतिष्ठानका संस्थापक चैतन्यकृष्णले भने। उनले कालीगण्डकीको महिमा, शालिग्रामको महत्वमाथि प्रकाश पार्दै प्राचीन धार्मिक ग्रन्थहरूमा भागीरथी गंगालाई भन्दा पनि माथिल्लो श्रेणीमा कालीगण्डकीलाई राखिएको बताए। आध्यात्मिक, भौतिक, धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक जुन दृष्टिकोणबाट हेरे पनि महिमा सम्पन्न कालीगण्डकीको आरती बन्नु हर्षको बिषय भएको भनाई चैतन्यकृष्णको थियो।
कालीगण्डकीको आरती–भजन आरतीमा स्वर राधिका भण्डारीको रहेको छ भने शब्द रचना दिवाकर पौडेलको छ। संगीत संयोजन बच्चा सिंहको रहेको छ। अडियो मिक्सिङ तथा रेकर्डिङ कुमार के.सी.ले गरेका हुन्। आरतीको दृश्यचित्रमा भिडियो निर्देशन, छायांकन तथा सम्पादन हरिकृष्ण रेग्मीले गरेका छन्। मुक्तिनाथ आरती पछि कालीगण्डकीको आरती–भजनलाई सर्जक स्वयंले बजारमा ल्याएका हुन्।
म्युजिक भिडियोको छायांकनका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू मदनराज न्यौपाने, विश्वराज सापकोटा, धनीराम ढकाल, गोविन्दराज गौतम र सहदेव न्यौपानेले कालीगण्डकीको पवित्र तट कागबेनी र उत्तरवाहिनी क्षेत्रमा महाआरती गरेका थिए। कालीगण्डकी गुरुकुलम् का प्रधान्याध्यापिका दुर्गा कंडेल वस्यालको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रमको सञ्चालन गुरुकुलम् का बटुक प्रशान्त अधिकारीले गरेका थिए।












