Kathmandu Press

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकाशको कानुन 

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा उक्त जानकारी दिएका हुन्।
प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकाशको कानुन 

काठमाडौं, असार १० : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदलाई जानकारी दिँदै प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भएको बताएका छन्।

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा उक्त जानकारी दिएका हुन्। उनका अनुसार प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको छ।

प्रहरी सेवालाई ‘प्याट्रन’ मिलाएर चुस्त दुरुस्त राख्न पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने, २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको भनाई उनको थियो। 

३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको फैसला अनुसार कानुनमै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदा तय गरिएको र प्रहरीको अवकासको बिषयलाई पनि प्रस्ताव गरिएको जानकारी श्रेष्ठले दिए। संसदमा जानकारी दिँदै उनले भने, ‘त्यो कानुन यही सदनमा आउनेछ।’

यस्तै गृहमन्त्री श्रेष्ठले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको समेत बताएका छन्। ‘एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतीको व्यवस्था राम्रो छैन,’ श्रेष्ठले भने, ‘जवान, हवल्दारहरु १९÷१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन्।’

प्रहरीभित्र आन्तरिक बढुवा र खुला प्रतिस्पर्धामा लिने अनुपात मिलाउने विषयमा लोकसेवा आयोगसँग परामर्श भइरहेको समेत उनले बताए। 

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्