जसपाको विधान अधिवेशन आजबाट

काठमाडौं, असार १०ः जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
विधान अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित ७६१ प्रतिनिधि सहभागी हुने उनले बताए ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुने पार्टीले जनाएको छ । यसैगरी सहभागी भएका प्रतिनिधिलाई १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको बस्नेतले बताए ।
आजदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेशनमा पेस हुन लागेको जनाइएको छ ।
विधान अधिवेशन यसअघि गएको चैत २७, २८ र २९ गते गर्ने निर्णय गरिएको भए पनि विभिन्न कारणले सरेको थियो ।











