Kathmandu Press

वाग्नर ग्रुपको विद्रोहका कारण रुसमा युद्ध भड्किने संकेत 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहले राष्ट्रघात गरेको बताउँदै उनीहरूलाई नछाडिने चेतावनी दिएका छन्।
वाग्नर ग्रुपको विद्रोहका कारण रुसमा युद्ध भड्किने संकेत 

काठमाडौं, असार ८ : रुसमा भाडाका सैनिक समूह वाग्नर ग्रुपले विद्रोह गरेको छ। वाग्नर ग्रुपलाई रुसले युक्रेनविरुद्ध प्रयोग गर्दै आइरहेको छ। विद्रोह थालेको वाग्नर समूहले शनिवार मात्रै रुसको सैन्य नेतृत्वलाई ध्वस्त पार्ने चेतावनी दिएको छ। उक्त विद्रोहसँगै राजधानी मस्कोमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहले राष्ट्रघात गरेको बताउँदै उनीहरूलाई नछाडिने चेतावनी दिएका छन्। वाग्नर समूहका प्रमुख यभ्गेनी प्रिगोजिनले आफ्नो सेनाका लडाकूहरू युक्रेनी सीमा पार गर्दैै रुसको रोस्तोभ–अन–डोन शहरमा प्रवेश गरिसकेको दाबी गरेका छन्। उनले प्रिगोजिनले रुसी रक्षामन्त्री सर्गे शोइगुसँग कुरा गर्न चाहेको उल्लेख गरेका छन्। 

रोस्तोभ–अन–डोन शहरमा रहेको रूसी सेनाको मुख्यालयलाई नियन्त्रणमा लिएको दाबी वाग्नर समूहको छ। वाग्नरले नियन्त्रणमा लिएको भनिएको रोस्तोभ–अन–डोन शहर राजधानी मस्को र युक्रेनी सीमाबाट केबल १०० किलोमिटर पूर्वमा छ। युद्ध भड्किन सक्ने सम्भावनापछि रोस्तोभ क्षेत्रका गभर्नर रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत त्यहाँका बासिन्दाहरूलाई घरभित्रै बस्न र शान्त रहन अपिल गरेका छन्। 

यता, सैनिक समूह वाग्नरले रुसी हेलिकप्टर खसालेको समेत दाबी गरेको छ। सन् २०१४ मा वाग्नर समूहले एक गोप्य संगठनको रूपमा काम थालेको थियो। यो समूहसँग हाल २५ हजारको हाराहारीमा भाडाका सैनिक रहेको बताइएको छ। रूसी रक्षा मन्त्री सर्गे शोइगुले शुक्रवार युक्रेनमा वाग्नरको शिविरमा रकेट हमलाको आदेश दिएको वाग्नर समूहका प्रमुखले आरोप लगाउँदै आएका छन्। रकेट प्रहारबाट आफ्ना लडाकू मारिएको प्रिगोजिनको दाबी छ। 

रुसी रक्षा मन्त्रालयले भने वाग्नर सेनामाथि रकेट आक्रमण गरेको आरोप निराधार रहेको दाबी गरेको छ। प्रिगोजिनले रुसी रक्षामन्त्रीले राजीनामा दिनुपर्ने सर्त राखेका छन्। उनले भनेका छन्, ‘यो सैन्य विद्रोह होइन, तर न्यायको मार्च अवश्य हो।’ उनले दक्षिणी शहर रोस्तोभ–अन–डनबाट मस्कोमा मार्च गर्ने चेतावनी समेत दिएका छन्।

प्रिगोजिनले केही महिना अघिदेखि रूसी सैन्य नेतृत्वको सार्वजनिक रूपमै आलोचना गर्दै आएका थिए। युक्रेन युद्ध शुरू हुनुमा पनि रक्षामन्त्री शोइगु जिम्मेवार भएको उनको आरोप छ। यसैविच वाग्नर समूहको विद्रोहप्रति लक्षित गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गलत बाटो रोज्नेको पतन जरुरी रहेको बताएका छन्।

‘रूसले युक्रेनमा जति लामो समयसम्म आफ्ना सेना र भाडाका सैनिकहरूलाई राख्छ, त्यति नै धेरै समस्याहरू उसले भोग्ने छ,’ जेलेन्स्कीले भनेका छन्। सन् २०२२ को फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको थियो। 
 

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्