मण्डलामा ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन
मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ कुमार नगरकोटीले लेखेका छन्।
काठमाडाैं, असार ९ : थापागाउँस्थित मण्डला नाटकघरमा असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन भइरहेको छ। पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा छ वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’मार्फत रङ्गमञ्चमा प्रस्तुत भएका छन्।
'चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको छु। आज र भोलि भन्दै छ वर्ष बितिसकेछ। समय मिलाएर नै यसपटक अभिनय गरेको हुँ', अभिनेता सापकोटाले भन्नुभयो, 'केही मञ्चनमा निर्देशन गरे पनि प्राप्त सुझावका आधारमा कलाकार बनेको हुँ। यहाँबाट फेरि केही सिकेर फर्किंने छु।'
थिएटरबाट नै अभिनयको सुरुआत गरेर भारतीय चलचित्र ‘बर्फी’ मा अभिनय गरिसक्नुभएका अभिनेता सापकोटाले रङ्गमञ्च आफ्ना लागि अभिनयको ऐना रहेको बताए। उनले भने, 'यहाँ काम गर्दा आफूलाई चिन्न र बुझ्न पाइन्छ। व्यावसायिक दबाबभन्दा पर रहेर काम गर्दाको आनन्द छुट्टै छ।'
निर्देशक खनालले तीन पात्रको भेट भएपछिको कथा नाटकमा प्रस्तुत गरिएको जानकारी दिए। 'तीन पात्र मात्र नाटकमा छन्। उनीहरूकै यात्रा र त्यहाँ निम्तिने घटना क्रममा नाटक आधारित छ', उनले भने। असार ८ देखि साउन १४ गतेसम्म मञ्चन हुने नाटकमा अभिनेता सापकोटासँगै रेणु योगी र गोविन्द सुनारले अभिनय गरिरहेका छन्।
त्यस्तै, मण्डला नाटकघरकै अभिनय प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’ को ११औँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको ‘कोराघाट’ कुमार नगरकोटीले लेखेका छन्। कोराघाट नाटकको कथा ‘कोराघाटका कियापुत्रीहरू’ मा आधारित छ। कमलमणि नेपालले निर्देशन गर्नुभएको यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ।












